काठमाडौं, २१ फागुन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपाल विश्वका शक्ति राष्ट्रहरूको चलखेलको केन्द्र बन्ने खतरा बढेको बताएका छन् ।

थापाले एमसिसी संसदबाट पारित गराउने बेलामा नेपालमाथि शक्ति राष्ट्रहरूले दवाव र प्रभाव दिएको उल्लेख गर्दै उनीहरूकै चलखेलको केन्द्र बन्ने खतरा बढेर गएको बताए ।

राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन, नेपालको शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एससिसी छिटो पास गर भनेर अमेरिकाले दवाव दिएको र चीनले रोक्नका लागि प्रयास गरेको भन्दै त्यसले नेपाल डरलाग्दो गरी शक्ति राष्ट्रहरुको चलखेलको केन्द्र बन्न सक्ने देखिएको स्पष्ट पारे ।

उनले विदेशी शक्ति राष्ट्रहरुले नेपालको स्वतन्त्र अस्तित्वमाथिनै प्रश्न उठनेगरी राजनीतिक दलहरूका नेताहरूलाई दबाब दिइरहेको दाबीसमेत गरे । त्यसले नेपालको स्वतन्त्रता र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको अध्यक्ष थापाको भनाइ थियो ।

अध्यक्ष नेपालले विदेशी सहायता लिने÷नलिने निर्णय लिने काम नेपालकै भए पनि त्यसमाथि शक्ति राष्ट्रहरूले हस्तक्षेप गरिरहेको बताए ।