काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदभित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनको आठौँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा बोल्दै उनले जनताको समस्याबारे बहस र छलफल गर्ने थलो संसद्भित्रको गतिरोध चाँडो अन्त्य हुनुपर्ने बताएका हुन् ।

पौडेलले लामो समयसम्म संसद् अवरोध गर्दा जनताका धेरै समस्या अड्किएर बसेको बताए । पूर्वसभामुखसमेत रहेका पौडेलले निजामती कर्मचारी ऐन दुई वर्षदेखि संसद्मा अड्किएर बस्नु दुःखद् भएको बताए ।

कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति धनराज गुरुङले सबै राजनीतिक दलको छलफलमा निजामती सेवा ऐन संसद्बाट पारित गर्नुपर्ने बताए । नेता र कर्मचारी देश र जनताप्रति इमान्दार भए मुलुकभित्र रहेको विकृति, विसंगति र भ्रष्टाचार अन्त्य हुने गुरुङले बताए ।