जनकपुरधाम, २१ फागुन । मधेस प्रदेशको प्रदेशसभा बैठक तेस्रो पटक स्थगित गरिएको छ ।

आइतबार दिउँसो २ बजे बस्ने भनिएको प्रदेश सभाको बैठक विशेष कारणवस चैत ९ गतेसम्मका लागि स्थगित गरिएको हो । बैठक चैत ९ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ ।

यसअघि फागुन १ गते र १० गतेका लागि बोलाइएको बैठक पनि स्थगित गरिएको थियो ।

फागुन १ गते जनयुद्ध दिवस मनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आएका बेला बैठक स्थगित गरिएको थियो भने १० गतेको बैठक सभामुख सरोज कुमार यादव पोखरा गएकोले स्थगित गरिएको थियो ।

प्रदेशसभा सचिवालयका सचिव रंजित कुमार यादवले नेपाली कांग्रेसको अधिवेशन चलिरहेको र गण्डकी प्रदेशका मुख्यमन्त्री मधेस प्रदेशको भ्रमणमा रहेकाले बैठक स्थगित गरिएको जानकारी दिए ।