काठमाडौं, २० फागुन । राष्ट्रियसभाका २० जना सदस्यको पदावधि आजदेखि समाप्त भएको छ ।

गोलाप्रथाका आधारमा चार वर्षे कार्यकाल पूरा गरेर २० जना सदस्य बिदा हुन लागेका हुन् ।

कार्यकाल पूरा गर्ने सबैभन्दा बढी सांसद नेकपा एमालेका छन् । एमालेका अगमप्रसाद बान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, पर्शुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेलको पदावधि समाप्त हुँदैछ ।

यस्तै नेकपा माओवादी केन्द्रका खिमकुमार विक, जीवन बुढा, दीनानाथ शर्मा, शशीकला दाहाल, नेकपा एकीकृत समाजवादीका उदया शर्मा पौडेल, ठगेन्द्रप्रकाश पुरी, शान्तिकुमारी अधिकारी जिसी र शेरबहादुर कुँवरको कार्यकाल पनि सकिँदैछ ।

नेपाली कांग्रेसका दृगनारायण पाण्डे, राधेश्याम अधिकारी र तारादेवी भट्टको पनि कार्यकाल पूरा हुँदैछ। यस्तै मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत सदस्य रामनारायण बिडारीको पनि कार्यकाल सकिँदैछ ।

रिक्त पदपूर्तिका लागि यसअघि नै १९ जना निर्वाचित भइसकेका छन्। ६ वर्षे कार्यकालका लागि निर्वाचित १९ जना सदस्यले फागुन २१ गते राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासमक्ष शपथग्रहण गर्नेछन् । एक सदस्य राष्ट्रपतिबाट मनोनीत हुने र राष्ट्रपतिसमक्ष नै शपथ लिने प्रावधान छ ।

कांग्रेसबाट नारायणदत्त मिश्र, ध्रुवराज शर्मा, दुर्गा गुरुङ, कमला पन्त, कृष्णप्रसाद पौडेल र गोपालकुमार बस्नेत, माओवादीबाट उर्मिला अर्याल, भुवनबहादुर सुनार, सुरेशकुमार आलेमगर, नरबहादुर विष्ट र जगतबहादुर कार्की, एकीकृत समाजवादीबाट जयन्तीदेवी राई, गोमादेवी तिमिल्सिना, राजेन्द्रलक्ष्मी गैरे, उदयबहादुर बोहरा र मदनकुमारी शाहले आगामी कार्यकालका लागि शपथग्रहण गर्नेछन्।

जसपा नेपालका मोहम्मद खालिद, नेकपा एमालेका सोनाम गेल्जेन शेर्पा र राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले पनि शपथग्रहण गर्नेछन् ।