काठमाडौं, २० फागुन । देशभरका निजी पेट्रोल पम्प व्यवसायीले अत्यावश्यक रूपमा रहेको पेट्रोलियम पदार्थको ढुवानी रोकेका छन् ।

इन्धन विक्रीबापत पाउने गरेको कमिसन वृद्धि नगरेको भन्दै निजी पेट्रोल पम्प व्यवसायीले इन्धनको ढुवानी रोकेका हुन् ।

बिहीबार मध्यरातदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको थियो । तर, इन्धन बिक्री गरेबापत बिक्रेताले पाउने कमिसन नबढाएको भन्दै पेट्रोल पम्पहरूले इन्धन ढुवानी रोकेका हुन् ।

थानकोट डिपोका अनुसार निजी पम्पहरूले पेट्रोल ढुवानी गरेका छैनन् । अहिले सेना प्रहरी सशस्त्र प्रहरी साझा पेट्रोल पम्पले मात्रै इन्धन लोड गरेका छन् ।

पेट्रोलियम डिलर्स एसोसिएसनले बिक्रेता कमिसनको हिसाब नमिलेकाले इन्धन ढुवानीमा समस्या भएको बताएको छ । निजी पम्पका ट्याङ्कर डिपोमा पुगे पनि पेट्रोल लोड नगरेको बताइएको छ ।

निगम बिहीबार मध्यरातदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलको मूल्यमा पाँच÷पाँच रुपैयाँको दरले वृद्धि गरेको थियो ।