काठमाडौं, २० फागुन । प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २१ औं वार्षिक प्रतिवेदन २०७८ (मस्यौदा) पारित गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको समितिको बैठकले २१ औं वार्षिक प्रतिवेदन २०७८ (मस्यौदा) समितिबाट पारित गरेको हो ।

समितिको बैठकपछि बोल्दै समितिका सचिव डा. रोजनाथ पाण्डेले समितिले गरेका काम कारबाहीहरुको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले मस्यौदा प्रतिवेदन पारित गरिएको जानकारी दिए ।

उनले प्रतिवेदनमा नौवटा उपसमितिहरूले गरेका बेरुजु फर्छ्यौटका कामहरू समावेश गरिएको बताए ।

प्रतिवेदनमा समितिले समसामयिक विषयहरूमा गरेका निर्णयहरू, गण्डकी प्रदेशको कालीगण्डकी करिडोरलगायत त्यस आसपासमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरूको निरीक्षणलगायतका कुराहरू यसमा समावेश रहेको सचिव पाण्डेको भनाइ छ ।

सचिव पाण्डेले समितिको उक्त प्रतिवेदन अनुमोदनका लागि सदनमा पेस गर्नका लागि प्रस्ताव गर्ने पनि बताए ।

उनले फास्ट ट्र्याकसम्बन्धी प्रतिवेदन यसअघिकै प्रतिवेदनमा संलग्न भइसकेको र पछिल्लो समय नेपाली सेनाले पुनः विचारको लागि रक्षा मन्त्रालयमा अनुरोध गरेकोले अहिले उक्त प्रतिवेदन समितिमा विचारधीन अवस्थामा रहेको जानकारी दिए ।