जनकपुरधाम, २० फागुन । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मानव अधिकार रक्षाको सवालमा प्रदेश सरकार संवेदनशिल रहेको बताएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले जनकपुरधाममा आयोजन गरेको दुई दिवसीय मानव अधिकार रक्षक प्रादेशिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकार मानव अधिकारको रक्षाको सवालमा स्थापनाकालदेखी नै संवेदनशिल भएर अघि बढेको बताए ।

प्रदेश सरकारले निर्माण गरेको नियम कानूनहरुमा मानव अधिकारको विषयलाई प्राथमिकतामा राखेको बताउँदै मुख्यमन्त्री राउतले आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार हनन नहोस् भनि ख्याल मात्रै गरिदिए मानव अधिकार रक्षाको सवालमा हाम्रो समाज ठुलो फडको मार्ने विश्वास व्यक्त गरे ।

मानव अधिकार रक्षाको सवालमा प्रदेश सरकार प्रतिवद्ध रहेपनि प्रहरी प्रशासनको अभावमा अपेक्षित कार्य गर्न नसकेको स्वीकार गर्दै मुख्यमन्त्री राउतले प्रहरी प्रशासनको हस्तान्तरण भएलगत्तै मानव अधिकार उल्लंघनको घटनाहरु नियन्त्रणमा फडको मार्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री राउतले सम्मेलनले दिने सल्लाह सुझाव प्रदेश सरकारका लागि उपयोगी हुनेसमेत उल्लेख गरेका छन् ।

मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुरको अध्यक्षतामा भएको उद्घाटन सत्रमा उच्च अदालतका मुख्यन्यायाधिश विनोद शर्मा, नेपाल बार एशोसिएशनका राष्ट्रिय उपाध्यक्ष रामचन्द्र सिंह, मानव अधिकार रक्षक संजालका केन्द्रिय अध्यक्ष श्यामा साह, गैर सरकारी संस्था महासंघका प्रदेश अध्यक्ष धिरेन्द्र बहादुर सिंह सहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए ।