अर्नामा गाउँपालिका कार्यालयमा तालाबन्दी

जनकपुरधाम, १९ फागुन । सिरहाको अर्नामा गाउँपालिका कार्यालयमा परीक्षार्थीहरुले तालाबन्दी गरेका छन् ।
बिहीबार अर्नामा गाउँपालिकाको कार्यपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको संयोजक पदका लागि लिने भनिएको परीक्षा अन्तिम समयमा स्थगित गरेको भन्दै पालिकामा परीक्षार्थीहरुले तालाबन्दी गरेका हुन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार संयोजक पदको करार सेवामा पदपूर्तिका लागि परीक्षा लिने भन्दै गाउँपालिकाको कार्यालयले अन्तिम समयमा सूचना टाँस गर्दै एक्कासी स्थगित गरिएको जानकारी गराएपछि परीक्षार्थीहरुले तालाबन्दी गरेको एक परीक्षार्थीले बताए ।
बिहानैदेखि परीक्षा दिन आएका परीक्षार्थीहरुले पालिकाले निर्धारित गरेको समयमा परीक्षा नलिई स्थगित गरेकाले तालाबन्दी गर्दै जिल्ला प्रशासन कार्यालय सिरहामा निवेदन समेत दिएको परीक्षार्थी ईन्द्रकुमार साफीले बताए ।
परीक्षार्थीहरुले अर्नामा गाउँपालिकाले निकालेको विज्ञापन अनुसार आफूहरुले प्रक्रिया अनुसार फारम भरेर तयारी गरी परीक्षामा सहभागी हुन आएपनि पालिकाका अध्यक्ष छटु महतो कोइरीले सेटिङ्गमै कर्मचारी छनोट गरेको आरोप लगाए ।
देखावटीका लागि मात्रै विज्ञापन निकालेर बेरोजगार यूवाहरुलाई गुमराहमा राखेको आरोप परीक्षार्थी प्रेमकुमार यादवले लगाउँदै जिल्ला प्रशासन कार्यालय सिरहामा अर्नामा गाउँपालिका अध्यक्ष छटु विरुद्ध क्षतीपूर्तिको माग गर्दै निवेदन दिएको बताए ।
पालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि प्रारम्भिक योग्यताक्रमको सूचि तथा परीक्षा कार्यक्रमको सूचना फागुन ४ मा प्रकाशित गरेको थियो ।
जसअनुसार १० जना परीक्षार्थीलाई परीक्षाका लागि छनोट गरेको अर्नामा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णनन्द सिंहले जानकारी दिए ।

