जनकपुरधामबाट पोखरासम्मको हवाइ उडान शनिबारदेखि सुरु हुने

जनकपुरधाम, १९ फागुन । धार्मिक नगरी जनकपुरधामबाट पर्यटकीय नगरी पोखरासम्मको हवाइ उडान फागुन २१ गते शनिबारदेखि सुरु हुने भएको छ ।
नागरिक उड्डयन कार्यालय जनकपुरधामले १७ फागुनमा महाशिवरात्रिदेखि जनकपुरधामबाट पोखरासम्मको सीधा हवाइ उडान हुने भनिएपनि केही प्राविधिक कारणले हुन नसकेको जनाएको छ ।
जनकपुरधाम विमानस्थलका प्रवन्धक योगेन्द्रनाथ कुँवरले जनकपुरधामबाट पोखराका लागि हुने उडानको अग्रिम टिकट बुकिङ गत बुधबारदेखि नै सुरु गरिएपनि नियमित उडान भने फागुन २१ ग्ते शनिबारदेखि हुने जानकारी दिए ।
सुरुमा हप्तामा तीन दिन र त्यसपछि यात्रुको मागअनुसार दैनिक उडान भर्ने योजना रहेको उनले बताए । अहिले प्रत्येक हप्ताको सोमबार, बिहीबार र शनिबार जनकपुरधामबाट पोखराका लागि उडान हुने उनले बताए ।
जनकपुरधाम आउने पर्यटक अब जहाजमार्फत पोखरा तथा पोखरा आउने पर्यटकले धार्मिक नगरी जनकपुरधाम भ्रमण गर्नका लागि केही मिनटको हवाइ यात्रा तय गरेर आउने जाने भएका छन् । यसले गर्दा दुवै ठाउँको पर्यटन प्रवद्र्धनमा थप टेवा पुग्ने विश्वास लिइएको छ ।
केही महिनाअघि मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गण्डकी प्रदेशका मुख्यमन्त्रीको निमन्त्रणमा पोखरा भ्रमण गएका बेलामा दुई पर्यटकीय सहरका बीचमा सीधा हवाइ उडान सेवा सुरु गर्ने लिखित सहमति गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


