जनकपुरधाम, १९ फागुन । जनकपुरधाममा आजदेखि तिन दिवसिय जनकपुर साहित्य महोत्सव २०२२ सुरु भएको छ ।

नव मिथिला फाउण्डेशनको आयोजन र नबिल बैंकको प्रायोजनमा सुरु भएको साहित्य महोत्सवको उद्घाटन मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गरेका हुन ।

महोत्सवको यो तेस्रो संस्करण शनिबारसम्म चल्ने छ ।

२०७६ सालदेखि प्रत्येक वर्ष आयोजना हुँदै आएको महोत्सवमा यसवर्ष साहित्य, संगीत, सिनेमा, संस्कृति, पहिचान, समाज र राजनीति सम्बन्धी १८ वटा ओपन–एयर प्यानल छलफल भईरहेको आयोजक समितिका संयोजक राकेशविक्रम साहले जानकारी दिए ।

जनकपुर साहित्य महोत्सवमा विधार्थी, राजनीतिज्ञ, कलाकार, संगीतकार, लेखकलगायतको सहभागिता रहेको उनले बताए । महोत्सवमा नेपालभरिका साहित्यप्रेमीहरुको सहभागिता रहेको उनले जानकारी दिए ।

आजको कार्यक्रममा अथितिको रुपमा मधेस प्रेदशका मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सभा सदस्य परमेश्वर साह, जनकपुरधाम उपमहानगरपालिकाकी उपमेयर रिता कुमारी मिश्र, नेपाल पर्यटन बोर्डका सीईओ, उद्योगपति बिनोद चौधरी, नबिल बैंकका कार्यकारी प्रमुख अनिल साह लगायत अन्य स्थानीय, प्रादेशिक र राष्ट्रिय स्तरका व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

उनले साहित्यिक क्षेत्रको प्रवद्र्धन गर्ने उद्देश्यका साथ तिन दिनसम्म आयोजना भईरहेको महोत्सवमा देशभरिका ख्याति प्राप्त स्रष्टाहरूको सहभागिता रहने जानकारी दिए ।

महोत्सवको पहिलो दिन आज चर्चित लेखल खगेन्द्र संग्रौलाको ‘मधेश, साहित्य र म’ भन्ने विषयमा एउटा सत्र सञ्चालन भएको छ । त्यस्तै, भोली र पर्सि पनि जानकी मन्दिर परिसरमै दिउँसो २ बजेदेखि कार्यक्रम सञ्चालन हुनेछ ।

महोत्सवमा ‘समाजमा विभेद’, ‘मधेसमा उद्यमी र मधेसको उद्योग’, ‘शिक्षाको संस्कार’, ‘स्थानीयविकास’, ‘महिला र राजनीति’, ‘कसको लोकतन्त्र, कस्तो लोकतन्त्र’, ‘मधेस एक अवसर’, ‘परिवर्तनको सिद्धान्त’, ‘मधेसमा साहित्य लेखन’ जस्ता अन्य विषयमा सत्रहरु सञ्चालन हुने आयोजकले जनाएको छ ।