काठमाडौं, १९ फागुन । नेपाली कांग्रेसको चुनावी अभियान केही समय पछि सर्ने भएको छ । फागुन २० गतेदेखि सुरु गरिने अभियान करिब दुई सातापछि सर्ने भएको हो । फागुन २० देखि चैत २० सम्मका लागि तोकिएको अवधि परिमार्जन गर्न लागिएको छ ।

चुनाव केन्द्रित प्रचार प्रसारका लागि ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान सुरु गर्न लागिएको थियो । कार्य सम्पादन समितिले फागुन ३ मा गरेको उक्त निर्णय संशोधन हुने भएको छ । अभियानका लागि तयारी नपुगेको जनाउँदै दुई साता पछिबाट मात्रै सुरु गर्ने बताइएको छ ।

एमसीसी नेपाल कम्प्याक्ट संसदबाट अनुमोदन गराउनका लागि पार्टी सम्पूर्ण रुपमा केन्द्रित हुँदा अभियानको तयारी नपुगेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए । ‘एमसीसी अनुमोदनका लागि पार्टी सम्पूर्ण रुपमा लाग्यो । ‘अभियानका लागि तयारी पुगेन’ महामन्त्री शर्माले भने,’चैतको पहिलो साताबाट अभियान सुरु गर्न हुन्छ ।’

देशभरका सबै वडामा अभियान सुरु गरी घर–घरमा कांग्रेस कार्यकता पुगेर पार्टीको व्यापक प्रचार गर्ने तयारी गरिएको छ ।