महोत्तरी, १९ फागुन । महोत्तरीमा ८ कठ्ठा क्षेत्रफलमा लगाइएको प्रतिवन्धित गाँजा खेती प्रहरीले नष्ट गरेको छ ।

जिल्लाको एकडारा गाउँपालिका–३ अजमरपट्टी बस्ने गंगा मण्डल, चेतन मण्डल, श्यामसुन्दर मण्डल, दिनेश मण्डल, नागेन्द्र मण्डल र गणेश मण्डलले आफ्नै खेतमा अबैध रुपमा लगाएको गाँजा खेती नष्ट गरेको प्रहरीले जनाएको छ ।

विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी तथा प्रहरी चौकी नैन्हीबाट गएको ११ जनाको संयुक्त प्रहरी टोलीले ८ कठ्ठा जग्गामा लगाइएको गाँजा नष्ट गरेको हो ।

८ कठ्ठामा करिब ४ हजार १ सय गाँजाको बोट फडानी गरी स्थानीय भद्रभलादी, स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा जलाएर नष्ट गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

गाँजा खेती गर्ने मानिसहरु फरार रहेकोले र उनीहरुको खोजि भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।