श्रमजिवी पत्रकारको आधारभूत तलब २५ प्रतिशतका दरले वृद्धि गर्न सरकारसमक्ष सिफारिस

काठमाडौं, १८ फागुन । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजिवी पत्रकारको आधारभूत तलब पछिल्लो तलबको २५ प्रतिशतका दरले वृद्धि गर्न सरकारसमक्ष सिफारिस गरेको छ ।
समितिले बुधबार सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सिंहदरबारस्थित मन्त्रालयमा ‘श्रमजीवी पत्रकार, कर्मचारी एवं कामदारको पारिश्रमिक पुनरावलोकन सिफारिस–२०७८’ प्रतिवेदन पेश गर्दै श्रमजीवी पत्रकार, कर्मचारी र कामदारको न्यूनतम आधारभूत तलबमा हाल पाइरहेको तलबको २५ प्रतिशतका दरले वृद्धि गर्न सिफारिस गरेको हो ।
प्रतिवेदन पेश गर्दै न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष राजेन्द्र अर्यालले श्रमजिवीहरुको न्यूनतम आधारभूत आवश्यकता, बजार मूल्यको वर्तमान अवस्था, मौद्रिक अवस्थामा आएको उतारचढाव र अन्य क्षेत्रमा कार्यरत श्रमजिवीहरुको तुलनात्मक पारिश्रमिक दरको अध्ययनको आधारमा २५ प्रतिशतले तलव वृद्धिको सिफारिस गरिएको बताए ।
उनले समितिको कार्यक्षेत्र बढाई पारिश्रमिक निर्धारण तथा अनुगमन बोर्ड बनाउन पनि सिफारिस गरिएको बताए । त्यस्तै, ऐन, नियमावली कार्यान्वयन नगर्ने सञ्चार प्रतिष्ठानलाई राज्यले दिने सेवा सुविधामा रोक लगाउन, छुट्टै प्रेस रजिस्ट्रारको व्यवस्था गर्न, प्रत्येक सञ्चार प्रतिष्ठानले श्रमजीवी पत्रकार ऐन नियमावली अनुसार कल्याणकारी कोषको स्थापना गर्न र कोभिड प्रभावित पत्रकार, कर्मचारी÷कामदारलाई विशेष राहत प्याकेज घोषणा गरी कार्यान्वयन गर्न सिफारिस गरिएको अध्यक्ष अर्यालले जानकारी दिए ।
प्रतिवेदन बुझ्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले समितिको सिफारिस कार्यान्वयनका लागि छलफल गर्ने बताए । समाजलाई गतिशील बनाउन पत्रकारको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले पत्रकारलाई उत्साहका साथ काम गर्ने अवसर दिलाउन राज्य सचेत रहेको बताए ।
‘समाजलाई गतिशील बनाउनका निमित्त पत्रकारहरुको धेरै महत्वपूर्ण भूमिका छ, र यो भूमिकालाई अझ प्रभावकारी बनाउँदै तपाईहरूले दिएका सुझाव के गर्न सकिन्छ त्यसका निमित्त मन्त्रालयमा सबैसँग छलफल गरेर, हामी पनि माग सबैको फटाफट पुरा गरौँ भन्ने चाहान्छौँ’ उनले भने ।
यसै अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा राज्यले उदासिनता देखाएको भन्दै ऐन सम्पूर्ण रुपले कार्यान्वयन गराउन सरकारको ध्यानाकर्षण गराए । उनले श्रमजीवी पत्रकारको तलव ५० प्रतिशतले वृद्धि हुनुपर्ने धारणा राखे । उनले तत्काल आमसञ्चार प्रतिष्ठान गठन गरी पत्रकारको क्षमता वृद्धिमा ध्यान दिन आग्रह समेत गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


