राजर्षि जनक विश्वविद्यालयको कार्यालयमा विद्यार्थीले गरे तोडफोड

जनकपुरधाम, १८ फागुन । जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयको कार्यालयमा विद्यार्थीहरुले तोडफोड गरेका छन् ।
नियमित परीक्षा सञ्चालनको माग गर्दै विद्यार्थीले तोडफोड गरेका हुन् ।
बुधबार दिउँसो परीक्षा दिन पुगेका बिबिए प्रथम वर्षका पहिलो सेमेस्टरका विद्यार्थीले बिनासूचना आफूहरुको परीक्षा सारिएको भन्दै उनीहरुले विश्वविद्यालयको कार्यालयमा तोडफोड गरेका छन् ।
विश्वविद्यालयले पटक÷पटक सूचना निकालेर परीक्षा नलिएपछि आफूहरुले आक्रोशित भएर तोडफोड गरेको विद्यार्थी आनन्दकुमार सहनीले बताए ।
६ महिनाभित्रै हुनुपर्ने समेस्टरको परीक्षा १ वर्ष बित्न लागे पनि आफुहरुले दिन नपाएको भन्दै उनले बुधबार बिहान ११ बजे परीक्षा दिन कलेज पुग्दा परीक्षा स्थगित भएको सूचना टाँस गरेको आफूहरुले देखेको बताए । आफूहरुले आक्रोशमा आएर तोडफोड गरेको उनले सुनाए ।
उनीहरुले कार्यालयभित्र रहेका फर्निचरका सरसमान, कम्प्युटर तथा विभिन्न उपकरणहरु तोडफोड गरेका छन् ।
परिक्षा नियन्त्रण कार्यालयले प्रकाशित गरेको सुचना अनुसार फागुन १८ गते हुने भनिएको परीक्षा सबै विद्यार्थीहरुको इन्टरनल असेसमेन्ट समयमै नबुझाइएकोले विश्वविद्यालयद्वारा स्थगित गरिएको भन्दै अक्रोशित विद्यार्थीहरू तोडफोडमा उत्रेको विश्वविद्यालयका कर्मचारी ओमप्रकाश मण्डलले जानकारी दिए ।
विश्वविद्यालय कार्यालयमा तोडफोड गरेको आरोपमा प्रहरीले आदर्श मण्डल, सोनु साह, संतोष यादवलगायत चार जना विद्यार्थीलाई पक्राउ गरेको थियो । करिव चार घण्टापछि उनीहरुलाई रिहा गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


