जनकपुरधाम, १८ फागुन । धनुषा प्रहरीले दुईजना मोटरसाइकल चोरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका वडा नम्बर–५ बस्ने २० वर्षीय उमेश माझी र सोही ठाउँ बस्ने २५ वर्षीय लक्ष्मेश्वर मण्डल रहेका छन् ।

उनीहरुलाई हंसपुर नगरपालिका वडा नम्बर–९ टिल्हीस्थित बाटोबाट चेकजाँचको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटेको प्रहरी टोलीले चेक प्वाईन्ट थापि बाटोमा आवतजावत गर्ने सवारी साधन तथा मानिसहरुलाई चेकजाँच गरिरहेको क्रममा ज ४ प ६३९६ र अर्को नम्बर प्लेट उप्काएको मोटरसाइकलमा सवार चालकलाई शंकास्पद रुपमा आउँदै गरेकोमा उनीहरुलाई रोकेर नामथर वतन सोधपुछ गर्दा एकजनाले आफ्नो नाम उमेश माझी र अर्कोले लक्ष्मेश्वर मण्डल भनी बताएकोमा उनीहरुसँग सो मोटरसाइकलहरुको कागजपत्रहरु माग गर्दा कागजपत्र देखाउन नसक्दा पक्राउ गरिएको थियो ।

उक्त मोटरसाइकलहरु बारे अनुसन्धान गर्दा ज ४ प ६३९६ नम्बरको मोटरसाइकल हंसपुर नगरपालिका वडा नम्बर–५ बस्ने शम्भु प्रसाद साहको आँगनबाट माझीले चोरी गरेको र नम्बर प्लेट उप्किएको डिस्कभर मोटरसाइकल औरही गाँउपालिका वडा नम्बर–६ बस्ने उतिमलाल सहनीको आँगनबाट फागुन १५ गते राती लक्ष्मेश्वर मण्डलले चोरी गरी ल्याएको खुलेकोमा दुबैजनालाई नियन्त्रणमा लिई चोरी सम्बन्धी मुद्दामा म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।