स्थानीय निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत

काठमाडौं, १८ फागुन । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन् ।
महतले सत्तारुढ दलहरूबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको बताएका हुन् ।
उनले स्थानीय आवश्यकतालाई ध्यानमा राखेर स्थानीय तहको निर्वाचन सम्पन्न हुने भएकाले दलहरूले आ–आफ्नै ढंगले उम्मेदवारी दिने तर्क समेत गरे । तर, यस विषयमा सत्तारुढ दलभित्र भने कुनै छलफल भइनसकेको उनको भनाइ छ ।
प्रवक्ता महतले आवश्यकताको सिद्धान्त र आ–आफ्नै फाइदाको सिद्धान्तअनुसार स्थानीय तहको निर्वाचनमा दलहरू जुट्नुपर्ने अवस्था रहेको दोहो¥याए ।
स्थानीय तहको निर्वाचन तोकिएको समयमा हुनेमा आफ्नो पार्टी विश्वस्त रहेको उल्लेख गर्दै उनले त्यसका लागि सरकार अघि बढिसकेको बताए । प्रवक्ता महतले प्रमुख प्रतिपक्ष दल एमालेलाई सहमतिमा लिएर संसद पूर्ण रूपमा खुलाउन आफ्नो पार्टीले प्रयास जारी राख्ने पनि बताए ।
उनले सभामुख अग्निप्रसाद सापकोटा र माधव नेपालसहितका १४ जना सांसदको विषय अदालतमा विचाराधीन मुद्दा भएकाले त्यसलाई छाडेर एमालेले संसद अवरोधबारे पुनर्विचार गर्नुपर्ने धारणासमेत राखे ।
चालु अधिवेशन अन्त्य गरेर आगामी बजेट अधिवेशनमा विपक्ष दलको सक्रिय सहभागिता आवश्यक भएकाले पनि एमालेलाई सहमतिमा ल्याएर संसद सञ्चालन गराउन आफ्नो पार्टीले प्रयास जारी राख्ने उनको तर्क थियो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


