काठमाडौं, १८ फागुन । जबर्जस्ती करणीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका नेकपा एमालेका सांसद मोहन बानियाँलाई पाँच दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जबर्जस्ती करणीको आरोपमा प्रहरी नियन्त्रणमा रहेका संसद बानियाँलाई बुधबार पाँच दिनको म्याद थप गरेको बताए ।

बानियाँविरुद्ध जबर्जस्ती करणी गरेको भन्दै जिल्ला प्रहरी बाँकेमा उजुरी परेसँगै उनी बेपत्ता रहेका थिए । प्रहरीले बानियाँलाई नेपालगञ्ज विमानस्थलबाट नियन्त्रणमा लिएको थियो । प्रहरी हिरासतमा रहेका बानियाँ मधुमेहलगायतको समस्या भएकोले उनलाई अलग्गै राखिएको छ ।

सांसद बानियाँले नेपालगञ्जको होटलमा जबर्जस्ती करणी गरेको भन्दै ४० वर्षीया पीडित महिलाले गत २७ माघमा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् । त्यसपछि सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भई प्रहरीले खोजी गरेकै बेलामा उनी काठमाडौँबाट नेपालगञ्ज आएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको थियो ।