एमसीसी सरकारको ‘ठगी धन्दाको पर्दाफास’ : नेकपा एमाले

काठमाडौं, १७ फागुन । नेकपा एमालेले देशमा पछिल्लो समय भइरहेको राजनीतिक घटनाक्रम र एमसीसी प्रस्ताव संसदबाट पास हुनलाई ‘ठगी धन्दाको पर्दाफास’ भनेको छ ।
एमालेद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केपी शर्मा ओलीको लिखित भाषणलाई उपमहासचिव प्रदिप ज्ञवालीले पढेर सुनाउँदै भने, ‘सरकारभित्रै रहेका दलले एमसीसी ठीक होइन, ठीक छैन भन्ने, एकै छिनमा सरकारमा रहिरहने तर एमसीसीको विपक्षमा मत दिने भन्ने, सरकारमै रहेर ‘राष्ट्रघाती’ प्रस्ताव भन्ने जस्ता क्रियाकलाप केही दिन हामीले देख्यौं । अन्तिममा तिनै दलले प्रस्ताव पास गरे । यो घटनाले गठबन्धन सरकारको ठगी धन्धा पर्दाफास भएको छ ।’
उनले कुनै पनि देशको सर्तसहितको सहयोग, अनुदान राम्रो नहुने पनि बताए । तर, देशको संसदबाटै प्रस्ताव पास भइसकेकोले अब देशको हित हुने गरी परियोजना कार्यान्वयनको पाटोमा जानु पर्ने पनि बताए ।
कार्यक्रममा उपमहासचिव ज्ञवालीले पछिल्लो घटनाक्रमले सभामुखले उक्त पदको गरिमा अनुसार काम नगरेकाले योग्य नभएको थप पुष्टि भएको बताए । यसपटक पनि उनले एमसीसीलाई नेकपा एमालेविरुद्धको हतियारको रुपमा प्रयोग गरेको आरोप लगाए ।
उनले भने, ‘एमसीसीलाई सुरुदेखि नै एमालेलाई कमजोर पार्ने र सरकार टिकाउने हतियारको रुपमा लिइयो । अहिले वास्तविक चेहेरा उदाङ्यो भयो ।’ उनले आफूहरूले एमसीसी प्रस्तावमा भएका अस्पष्ट विषय छलफलका संसदमा दर्ता गरेको दावी पनि गरे ।




तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


