काठमाडौं, १७ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीम रावलका गतिविधि पार्टीको नीतिविपरीत भएको बताएका छन् ।

एमालेले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले भीम रावलले पार्टीको कामभन्दा पृथक ढंगले प्रस्तुत भएको भन्दै आफूलाई व्यक्तिगत रुपमा हिरो देखाउन खोजेको आरोप लगाएका छन् ।

रावलका क्रियाकलापप्रति पार्टीको ध्यानाकर्षण भएको बताउँदै अध्यक्ष ओलीले उनका क्रियाकलाप आत्मप्रचारक र अनुचित भएको टिप्पणी गरे ।

उनले भने,‘आफूलाई व्यक्तिगत तवरमा हिरो देखाउन खोज्ने, कुनै पनि बहानामा चाहे राष्ट्रवादको होस् चाहे लोकतन्त्रको बारेमा होस् वा अरु बहानामा पार्टीको धारणाभन्दा पृथक देखिएर गर्ने क्रियाकलापहरू पार्टीको अनुशासनभित्र पर्दैनन्’ उनले भने ’भीम रावल पार्टीको सल्लाहकार परिषदको सदस्य हो । उहाँले आत्मकेन्द्रित र आत्मप्रचारक काम गर्नु भएको छ । त्यस विषयमा पार्टीको ध्यान गएको छ ।’