जनकपुरधाम, १६ फागुन । सामाजिक तथा धार्मिक क्षेत्रमा निरन्तर क्रियाशिल रहँदै आएको जनकपुरधामस्थित दशरथ युवा कमिटीले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–८ स्थित सन्त तुलसी दास पार्कमा यसवर्ष पनि महाशिवरात्री पर्व धुमधामका साथ मनाउन लागेको छ ।

२०६६ सालदेखि प्रत्येक वर्ष मनाउँदै आएको महाशिवरात्री पर्व यसवर्ष पनि भव्यताका साथ मनाउन लागिएको कमिटीका अध्यक्ष लवकुमार झाले जानकारी दिए । कमिटीले यसवर्ष लखराम पूजाको आयोजना गरेको छ । लखराम पूजामा सवा लाख महादेवको पूजा गरिने अध्यक्ष झाले बताए ।

अध्यक्ष झाले मंगलबार दिउँसो २ बजेदेखि लखराम पूजाको आयोजना गरिने र सन्ध्या ७ बजेदेखि भजन सन्ध्या सुरु हुने जानकारी दिए ।महाशिवरात्रीको अवसरमा साँस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने भएको छ ।

अध्यक्ष झाले जनकपुरधामवासीलाई पूजामा स–परिवार सहभागी भईदिन आग्रह समेत गरेका छन् । उनले ओझेलमा परेको दशरथ तलाउको सौन्दर्यीकरण र चौतर्फी विकासका लागि यस कमिटीले निरन्तर प्रयास गरिरहेको र यस कार्यलाई निरन्तरता दिने बताए ।