महोत्तरी, १६ फागुन । पाँच दलिय सत्ता गठबन्धनले एमसीसी पारित गराएपछि नेकपा माओवादी केन्द्र महोत्तरीमा चरम असन्तुष्टि देखिएको छ ।

एमसीसी पास गर्ने बहानामा ‘व्याख्यात्मक विश्लेषण’लाई अगाडि सारेर अनुमोदन गर्नु राष्ट्र हितविपरित भएको भन्दै माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले पार्टी परित्याग गर्नेदेखि विद्रोहसम्मको तयारी गरेका हुन् ।

माओवादी केन्द्र मधेस प्रदेश कमिटी सदस्य राजन ढुंगानाले माओवादी नेतृत्व अमेरिकी सम्राज्यवादतर्फ घुडा टेकेको आरोप लगाएका छन् । राष्ट्रियता, जनतन्त्र र जनजीविकाको एजेण्डा बोकेर १० बर्षसम्म जनयुद्ध लडेको पार्टी नै एमसिसीको पक्षमा घुडा टेक्नु स्वीकार्य नहुने र विद्रोह गर्ने चेतावनी दिए ।

यसैगरी, जिल्लाका कतिपय नेता कार्यकर्ताले माओवादी केन्द्रको औचित्य सकिएको भन्दै पार्टी नै त्याग्ने घोषणा समेत गरे ।

बर्दिबासस्थित स्थानीय नेता सौरभ खड्का र निरज अधिकारीले पनि पार्टी नेतृत्वले गठबन्धनको सुरक्षा गर्ने बहानामा नेता कार्यकर्ताको भावनामा ठेस पु¥याएको बताए ।

बर्दिबासमा त एमसीसीका विरुद्ध चरणबद्ध आन्दोलन समेत भएको थियो । गठबन्धनले व्याख्यात्मक विश्लेषणको नाममा एमसीसी अनुमोदन गर्ने दिशातर्फ उन्मुख भएपछि हिजोदेखि नै नगर सुनसान बनेको छ ।

पार्टी नेतृत्वको यो निर्णयले जिल्लामा पार्टीभित्रको सुदृढिकरण क्षीण भएको कतिपयको भनाइ छ । यसअघि प्रचण्डले एमसीसी कुनै पनि हालतमा पास गर्न नसकिने अडान लिँदै आएका थिए ।

पाँच दिन अगाडि एमसीसीको पक्षमा पार्टी उभिए पार्टी नै परित्याग गर्ने सार्वजनिक गरेका स्थानीय नेता निरज अधिकारीले फेसबुकमार्फत अबदेखि माओवादी केन्द्रमा नरहेको सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जालमा माओवादीको कदमलाई लिएर निकै टिप्पणी भएका छन् । विशेषगरी विपक्षी दलका नेता तथा कार्यकर्ताले आन्दोलनको विषयलाइ लिएर खिल्ली उडाएका छन् ।