काठमाडौं, १६ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाकालीन बेलामा आफूले नै एमसीसी सम्झौता यथास्थितिमा पारित हुन नहुने तर्क राखेको बताएका छन् ।

एमसीसी सम्झौता संसदबाट पारित भएपछि सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले ओलीले भने यथास्थितिमै पारित गर्न खोजेको आरोप लगाए ।

ओलीले संकल्प प्रस्ताव पनि चाहिँदैन भनेर त्यो बेलामा भनेको उनले सुनाए । ‘अहिलेसम्म यो कुरा बाहिर आएको छैन, मैले आज भन्नैपर्छ भनेर भनेँ’, प्रचण्डले भने ।

नेकपाकालीन बेलामा एमसिसी दर्ता भएपछि त्यसबारे आफ्नै सल्लाहमा झलनाथ खनालको नेतृत्वमा कार्यदल बनाएको पनि उनले सम्झिाए ।

‘सुझावसहितको प्रतिवेदन दिएपछि धेरै विभाजन भएको हो । एमसिसी विभाजित छ । यसलाई यथास्थितिमा पारित गर्न सकिँदैन भन्ने मत त धेरैको थियो । तर मैले धेरै अध्ययन गरेर मात्र निचोडमा पुग्न उपयुक्त हुन्छ भनेर कार्यदल समेत बनाएको थियो’, प्रचण्डले भने, ‘मेरै अध्यक्षतामा बसेको केन्द्रीय कमिटीको बैठकमा यसका बारेमा घनिभूत छलफल भयो । एमसिसीमा केही विषयहरू गम्भीर विषय छन भनेर भनेको थिएँ ।’

उनले अघि भने, ‘प्रधानमन्त्री केपी ओली चाँहि यत्तिकै पारित हुनुपर्छ भन्नेमा पुग्नुभयो । ९ जनाको सचिवालयमध्ये ७ जना चाँहि यथास्थितिमा पारित हुन हुँदैन भन्नेमा थियौं । तर, केपीजी र अर्को एकजना यतिकै पारित गर्नुपर्छ भन्नेमा हुनुहुन्थ्यो ।’

जनतामा विवाद भएको विषयमा राष्ट्रिय बहस आवश्यक भएको भन्दै छलफल अघि बढाएको प्रचण्डले सुनाए ।