जनकपुरधाम, १५ फागुन । धनुषाको एक सहकारी संस्थामा अध्यक्षले नै चोरी गरेको आरोप लगाइएको छ ।

जिल्लाको कमला नगरपालिका वडा नम्बर–६ स्थित सिंग्याही मडानमा रहेको साना किसान कृषि तथा सहकारी संस्था लिमिटेडका अध्यक्ष कामेश्वर मण्डलले चोरी गरेको संस्थापक अध्यक्ष रामदयाल महतोले आरोप लगाएका हुन् ।

जनकपुरधाममा आइतबार एक पत्रकार सम्मेलनको आयोजना गरी संस्थापक अध्यक्ष महतोले गत माघ १५ गते सहकारीको कार्यालयमा भएको चोरीमा अध्यक्ष मण्डलको संलग्नता रहेको दावी गरेका छन् ।

सिंग्याही मडानस्थित साना किसान कृषि तथा सहकारी संस्था लिमिटेडको कार्यालयबाट २÷३ थान ल्यापटप र २ हजार ५ सय रुपैयाँ चोरी भएको थियो । यद्यपि अध्यक्ष मण्डलले कार्यालयबाट १६ लाख रुपैयाँ चोरी भएको भन्दै उजुरी दिएका थिए । जबकि संस्थापक अध्यक्ष महतोले सहकारीको कार्यालयमा १६ लाख रुपैयाँ राख्ने के प्रयोजन थियो भन्दै प्रश्न गरे ?

सहकारीका संस्थापक सदस्य सोभित महतोले संस्थाको रकम अपचलन गरेर त्यसलाई ढाकछोप गर्न अध्यक्ष मण्डल र प्रबन्धक बृजेन्द्रकुमार यादवले चोरीको नाटक रचेको आरोप लगाए ।

यता उजुरीको आधारमा प्रहरीले ३ जनालाई पक्राउ गरेर जिल्ला अदालत धनुषामा मुद्दा चलाएको थियो । जिल्ला अदालत धनुषाले १ जनालाई पुर्पक्षका लागि पठाएको छ भने २ जनालाई ८०/८० हजार रुपैयाँ धरौटीमा रिहा गरेको छ ।

संस्थापक सदस्य सोभित महतोले प्रहरीले वास्तविक चोरलाई पक्राउ नगरेको गुनासो गरेका छन् ।

२९ लाख रुपैयाँको पूँजीबाट सुरु भएको साना किसान कृषि तथा सहकारी संस्था लिमिटेडको पूँजी १६ करोडसम्म पुगिसकेको छ भने सो सहकारीमा हाल १ हजार ३ सयभन्दा बढी शेयरधनी छन् । वि.सं. २०६१ सालमा दर्ता गराएर सो सहकारी संस्थाको शुरुवात गरिएको थियो ।