जनकपुरधाम, १५ फागुन । जबरजस्ती करणीको आरोपमा पक्राउ परेका आफ्ना श्रीमान् निर्दोष रहेको एक महिलाले दावी गरेकी छन् ।

जनकपुरधाम वडा नम्बर–५ बस्ने एक बालिकालाई फागुन ७ गते करणी गरेको भनि झुठा आरोप आफ्नो श्रीमानमाथि लगाइएको उनको दावी छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ मा श्रीमान सोनुकुमार भगत र आफ्नो ६ वर्षीय छोरासहित ८ वर्ष देखि बस्दै आएकी रुबीदेवी भगतले फागुन ११ गते दिउँसो ३ बजेको समयमा आफ्नो श्रीमानलाई फोनगरी विश्वकर्मा चोकमा बोलाई त्यहाँबाट प्रहरीले समातेर लगेको घटनाले आफू अचम्मित भएको बताइन् ।

आइतबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी उनले सो दिन आफ्नो श्रीमान वीरगञ्ज गएको र सुनियोजित रुपमा उनलाई फसाउन षडयन्त्र गरिएको दावी गरिन् । उनले घटनाको सत्य तथ्य छानविन गरी निर्दोषलाई नफसाउन स्थानीय प्रशासनसँग आग्रह गरेकी छन् ।

उनले भनिन,‘मेरो जीवनको सहारा न छिनियोस् भन्ने यहाँहरु मार्फत सम्बन्धित सबैसँग आग्रह गर्न चाहन्छु । मेरो श्रीमानलाई फसाई थुनामा पुर्याइ दिएकोमा परिवार छिन्नभिन्न हुने भएको छ ।’

उनले आफ्नो श्रीमानलाई बलात्कार काण्डमा फंसाएर सम्पत्ति हडपने नियतका सम्प्रदाय पक्षधरहरु रहेकाले सो षडयन्त्र अन्तर्गत नै योजनाबद्धरुपमा यस्तो खेल रचेको जिकिरसमेत गरिन् ।

‘निर्दोषलाई फसाएर सम्पति हात पार्ने षडयन्त्र गरिएको छ,’उनले भनिन्,‘मेरो ससुराले अर्जेको जग्गाहरु कैयन कित्ता वर्तमान समयमा करोडौं मूल्यको भएको छ । त्यसमाथि विपरित समुदायका केही तत्वको कुदृष्टि पहिलादेखि नै जमेको छ । सो स्वार्थसिद्ध गर्न विपरित सम्प्रदायका केही तत्वहरु आ–आफ्नो फाइदा उठाउन बलात्कारजस्ता संगीन अपराधमा मेरो पतिलाई फसाएर सम्प्रदायिकरुपमा हामिलाई उठीबास गराउने षडयन्त्र गरेका छन् ।’