जनकपुरधाम, १५ फागुन । धनुषाको शहीदनगर नगरपालिका वडा नम्बर–९ गोठकोयलपुरस्थित बछराजा नदी आसपास दुर्गन्ध फैलियो ।

स्थानीयवासीले शनिबार साँझ दुर्गन्ध फैलिएपछि खोजबिन सुरु गरे । उनीहरूले पुलबाट नियाल्दा नदीमा जुत्ता, कपडा र बोरामा बाँधिएको केही वस्तु देखे ।

यसपछि गाउँमा खैलाबेला मच्चियो । उनीहरूले इलाका प्रहरी कार्यालय यदुकोहालाई खबर गरे । केही बेरमै प्रहरीको टोली आइपुग्यो । प्रहरीले पनि दुर्गन्ध महसुस गरे । तर, रातिको समयमा प्रहरीले केही गरेन ।

आइतबार बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेत नेतृत्वको टोली त्यस ठाउँमा आइपुगे ।

स्थानीय र प्रहरीले बोराभित्र शव भएको आशंका गरेका थिए । यसपछि प्रहरी नदीमा प्रवेश गरेर बोरा खोले । बोरा खोलेपछि प्रहरी टोली अचम्मित भए । ‘त्यो बोरा खोल्दा त कुकुरको लास फेला प¥यो’ डिएसपी बस्नेतले भने, ‘हिजोदेखि यसकै निम्ति तनाव खेप्नुपरेको छ ।’

उनका अनुसार कसैले कुकुरलाई मारेर बोरामा बाँधी फालिदिंदा दुर्गन्ध फैलिएको हो ।

–अनलाइनखबर