एमसीसी राष्ट्रिय हित विपरीत : माओवादी केन्द्र मधेस प्रदेश समिति

जनकपुरधाम, १४ फागुन । नेकपा माओवादी केन्द्र मधेस प्रदेश समितिको पदाधिकारी तथा केन्द्रीय सदस्य र जिल्ला इन्चार्जहरुको विस्तारित बैठक जनकपुरधाममा सम्पन्न भएको छ ।
समितिका अध्यक्ष प्रल्हाद बुढाथोकीको अध्यक्षतामा इन्चार्ज गणेश साह, सहइन्चार्जद्वय विश्वनाथ साह र महेन्द्र पासवानको उपस्थितीमा सम्पन्न बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरु गरेको हो ।
बैठकले एमसीसीले सिङ्गो देशको जनमतलाई तरंगित मात्र नगरी विभाजित समेत गरेको ठहर गर्दै एमसीसी राष्ट्रिय हित विपरीत र सार्वभौमसत्ताको विरुद्धमा भएकोले विना परिमार्जन तथा संशोधन संसदबाट पारित गर्न नसकिने अडान दोर्होयाएको छ ।
‘डलर होइन स्वाभिमान रोजौं’ भन्दै संसदबाट एमसीसी पारित गर्ने कार्यका विरुद्ध सशक्त प्रतिवाद गर्दै संघर्षमा उत्रन सबैसँग अपिल समेत गरिएको छ ।
सो बैठकबाट फागुन २५ गते प्रदेश समिति गठनको घोषणा गरिने छ भने आगामी स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै संगठन सुदृढिकरणको काममा योजनाबद्ध रुपमा लाग्ने निर्णय भएको सचिव योगकुमार बरबरियाले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


