काठमाडौं, १४ फागुन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी संसदीय प्रक्रियामा नै नरहेकाले एमसीसी पास गर्ने अवस्थामा नरहेको बताएका छन् ।

प्रगतिशील पेशागत कानुन व्यवसायी सङ्गठनको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

अध्यक्ष ओलीले देश र जनताको हितभन्दा बाहिर आफ्नो पार्टी नजाने समेत उनले बताए । ओलीले एमालेले राष्ट्रिय र जनताको हित तथा अन्तर्राष्ट्रिय सम्बन्ध हेरेर जे गर्दा राष्ट्रका लागि उचित हुन्छ, त्यही मात्र गर्ने बताए । उनले नेपाल न्यायको भूमि भएपनि न्याय मरेको बताउँदै सर्वोच्च अदालतले अन्तिम फैसला गर्ने निकाय भएको तर त्यसले व्याख्या गर्ने नाममा संविधानबमोजिम नगरेको उल्लेख गरे ।

अध्यक्ष ओलीले सर्वोच्च अदालतले स्वेच्छाचारी निर्णय गर्दै जाँदा न्यायपालिकामा विकृति आउने समेत बताए । ‘सर्वोच्च अदालत विकृत भयो भने देश, समाज के हुन्छ । हाम्रो विधि कहाँ पुग्छ ?’, उनले प्रश्न गरे । उनले एमाले नेपालको न्याय क्षेत्र स्वच्छ, पवित्र र निष्पक्ष ढङ्गले संविधानबमोजिम हुनुपर्ने मान्यता राखेको बताए ।