काठमाडौं, १४ फागुन । संघीय संसद् सचिवालयले आइतबार बस्ने प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको कार्यसूचीमा एमसीसी सम्झौतामाथि सामान्य छलफलका लागि अर्थमन्त्री जनार्दन शर्माले प्रस्ताव पेश गर्ने उल्लेख छ ।

यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०७७/७८ पनि पेश हुने सार्वजनिक गरिएको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यद्यपि, भोलिको प्रतिनिधिसभाको बैठकअघि बिहान ११ः३० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर कार्यसूचीबारे निर्णय गर्ने छ ।

गत आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा एमसीसी प्रस्ताव टेबल गरिएपछि बोलाइएका बैठकहरू सरकारको आग्रहमा स्थगित हुँदै आएका छन् । बिहीबार र शुक्रबारलाई बोलाइएको प्रतिनिधिसभाको बैठक सरकारकै आग्रहमा स्थगित गरिएको थियो ।

अमेरिकाले एमसीसी परियोजना अनुमोदनका लागि सोमबारसम्मको समयसीमा दिएको छ । यसका लागि सरकारले दलहरूसँग सहमति जुटाउन छलफललाई तीव्रता दिएको छ ।