जनकपुरधाम, १३ फागुन । धनुषाको हंसपुर नगरपालिकामा बिहीबार स्थानीयबासीले लगाएको ताला शुक्रबार खोलिएको छ ।जनप्रतिनिधि र राजनीतिक दलहरुबीच पाँचबुँदे सहमति भएपछि ताला खोलिएको हो ।

नगर प्रमुख रामज्ञान मण्डललगायतका जनप्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरुबीच विगत चार वर्षसम्म गरिएका विभिन्न विकास निर्माणलगायतका सूचना पारदर्शी गर्ने र आधिकारीक कर्मचारीको चिठ्ठी उपलब्ध गराउनेसहित पाँच बुँदे सहमति भएसंगै ताला खोलिएको छ ।

हंसपुर नगरपालिकाको कार्यालयको आधिकारीक कर्मचारीको चिठ्ठी उपलब्ध गराउने, नगरपालिकाको विवादमा पुनः नफस्ने प्रतिबद्धता, नगरपालिकाको पहिलो वर्षदेखि चौथो वर्षसम्मको सम्पूर्ण आय व्यय सार्वजनिक गर्ने, चालु आर्थिक वर्षको नगरसभाबाट स्वीकृत योजनाहरु प्रमाणित प्रतिलिपी उपलब्ध गराउने, हालसम्म गाडीको विवरण र अवस्था तथा सात दिन भित्र गाडीहरु बुझबुझारथ गरिनुपर्ने सहितका बुँदाहरुमा जनप्रतिनिधि र राजनीतिक दलबीच सहमति भएको बताइएको छ ।

जनप्रतिनिधिको तर्फबाट नगरप्रमुख मण्डल, उपप्रमुख रेणुदेवी झा, वडाध्यक्षहरु कामेश्वर कापर, उदय कुमार साह, उदयकुमार सिंह, किशोरी यादवको सहभागिता थियो भने राजनीतिक दलका तर्फबाट नेपाली काँग्रेसका जागेश्वर साह, नेकपा माओवादी केन्द्रका सुनिलकुमार यादव, जसपाका रामनारायण कापरीलगायतकाहरु सहभागी थिए ।

विकास निर्माणको समयमा प्रमुख प्रशासकीय अधिकृत केशव अधिकारीलाई सरुवा गरिएको भन्दै स्थानीयवासीले बिहीबार नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेका थिए ।

नगर प्रमुख रामज्ञान मण्डलले फर्जी कागजात तयार गरेर प्रमुख प्रशासकीय अधिकृत अधिकारीलाई सरुवा गर्न लगाएको र विकास निर्माणको काममा व्यापक अनियमिता गरेको आरोप लगाउँदै बिहीबार स्थानीय युवा बलिराम कापडीको नेतृत्वमा स्थानीयवासीले कार्यालयको प्रवेश द्वारमा ताला लगाएका थिए ।