काठमाडौं, १३ फागुन । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित छलफल सकिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सचिवालय बैठकले गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी गरेको प्रचण्डको निजी सचिवालयले जनाएको छ ।

बैठकमा केन्द्रीय कार्यालयका साथै पूर्वस्थायी समिति सदस्य तथा मन्त्रीहरूको पनि उपस्थिति थियो ।

बैठकले एमसीसीबारे पार्टीको पूर्ववत् सैद्धान्तिक धारणामा रही गठबन्धन बचाउन अन्तिम कोसिस गर्ने समझदारी भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

बैठकमा माओवादी नेताहरूले एमसीसी पास वा फेल जे भए पनि गठबन्धन भने नटुटाउने विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

केही नेताले माओवादी सरकारमै रहँदा छलफल गरी ल्याएको एमसीसीको विपक्षमा जाँदा विश्वसनीयताको प्रश्न पनि उठ्ने धारणा राखेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजै सरकारमा रहने/नरहनेबारे निर्णय गर्न दबाब दिए पनि माओवादी केन्द्रले आफ्ना मन्त्रीहरूबारे कुनै निर्णय भने गरेन ।

माओवादीले अन्तिमपटक गठबन्धन बैठक राखेर पार्टीको अडान राख्ने एक नेताले जानकारी दिए ।