नेपाली कांग्रेस धनुषाको जिल्ला अधिवेशन २३ गते हुने

जनकपुरधाम, १३ फागुन । नेपाली कांग्रेस धनुषाको जिल्ला अधिवेशन फेरि स्थगित भएको छ ।
फागुन २० गते हुने भनिएको जिल्ला अधिवेशन २३ गतेसम्मका लागि स्थगित गरिएको हो ।
जनकपुरधामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्ला अधिवेशन २३ गते गर्ने निर्णय गरेको कोषाध्यक्ष राजलाल महतोले बताए ।
केन्द्रले तोकेको मितिमा अधिवेशन गर्न समय अनुकूल नमिलेकोले आफ्नै मिति तय गरेको महतोले जानकारी दिए ।
प्रतिनिधि सभासदस्यहरु एमसीसीको विषयमा सदनमा हुने छलफलमा भाग लिन सहभागी हुने तथा १९ गते मिथिलाको महत्वपूर्ण धार्मिक पदयात्रा माध्यमिकी परिक्रमा प्रारम्भ हुने भएकोले जिल्ला अधिवेशन सारिएको उनले बताए ।
जिल्लाले २० गते उम्मेदवारी दर्ता, २१ गते दावी विरोध तथा उम्मेदवारी फिर्ता, २२ गते निर्वाचनको अन्तिम नामावली प्रकाशन र २३ गते निर्वाचन गर्ने निर्णय गरेको छ ।
जिल्लामा सभापती पदका लागि वर्तमान जिल्ला उपसभापती सन्तोष यादव, क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियार र संविधानसभा सदस्य दिनेश प्रसैलाले आ–आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
मधेस प्रदेशलगायत अधिवेशन हुन बाँकी रहेको १६ जिल्लाको अधिवेशनको मिति पटक–पटक सर्दै आएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


