महोत्तरी, १३ फागुन । महोत्तरीबाट लागूऔषधसहित प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका–८ बस्ने २० वर्षीय विवेक कार्की र वडा नम्बर–९ बस्ने २३ वर्षीय राकेश साह रहेको प्रहरीले जनाएको छ ।

कार्कीको ज्याकेटको गोजीबाट लुकाई छिपाई राखेको प्रतिवन्धित नाईट्राभेट ट्याब्लेट १४ पिस, स्पास्मो प्रो.ट्याब्लेट ८ पिस र साहको गोजीमा रहेको नाईट्रोभेट ट्याब्लेट खुल्ला २ पिस र स्पास्मो प्रो.ट्याब्लेट ३ पिस बरामद गरिएको प्रहरीले जनाएको छ ।

बुधबार साँझ साढे ७ बजेको समयमा औरही नगरपालिका वडा नम्बर–४ स्थित अस्थायी प्रहरी पोस्ट कठुधारबाट खटेको प्रहरी टोलीले शंकाको आधामा चेकजाँच गर्दा पैदल यात्री दुबैजनालाई लागूऔषधसहित पक्राउ गरिएको थियो ।

पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भईरहेको महोत्तरी प्रहरीले जनाएको छ ।