काठमाडौं, १३ फागुन । विभिन्न ३४ राजनीति दलहरूले आज एमसीसीविरुद्ध प्रदर्शन गर्न लागेका छन् ।

एमसीसीका विषयमा आज बस्ने प्रतिनिधिसभा बैठकले छलफलपछि अनुमोदन गर्ने तयारी गरेपछि ती दलहरूले विरोधका कार्यक्रम तय गरेका हुन् ।

दलहरूले अधिकांश विरोध कार्यक्रम काठमाडौंको माइतीघरदेखि कोटेश्वरसम्म राखेका छन् । ठाउँको अभाव हुँदा एउटै स्थानमा पार्टीका कार्यक्रमहरू जुधेका छन् ।

एमसीसीविरुद्ध विरोध प्रदर्शनको आयोजना गर्नेमा सत्तारूढ दलदेखि साना दलसम्म रहेका छन् । विरोध प्रदर्शन गर्नेहरूले आज बानेश्वरस्थित प्रतिनिधिसभा भवनलाई तीनतिरबाट घेर्ने तयारी गरेका छन् ।

एमसीसीविरुद्ध प्रदर्शनको कार्यक्रम राख्नेमा नेकपा माओवादी केन्द्र, नेपाल मजदुर किसान पार्टी नेमकिपा, नेपालका लागि नेपाली पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चा, नेकपा (माले), एमसीसी खारेज अभियान नेपाल लगायत २२ राजनीतिक दल तथा अभियान, संयुक्त जनआन्दोलन नेपाल, नेकपा एकीकृत समाजवादी आबद्ध जनसंगठन र नेकपा (माओवादी) रहेका छन् ।