काठमाडौं, ११ फागुन । सहकारीको करोडौं रकम ठगी गरेर फरार भएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३० का सुरज बस्नेत र काठमाडौं महानगरपालिका–१६ का शिव पाण्डे रहेको प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

उनीहरूमाथि काठमाडौं–३१ स्थित भरोसा नेपाल बहुउद्देश्ययी सहकारी संस्थाबाट ६ करोड २५ लाख ठगी गरेको आरोप छ ।

निक्षेपकर्ताहरूले निक्षेप रकम माग्दा सहकारीमा ताला लगाई फरार भएका जाहेरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।बस्नेत उक्त सहकारीका अध्यक्ष हुन् भने पाण्डे उपाध्यक्ष हुन् ।

सहकारीका १५ जना निक्षेपकर्ताहरूको निक्षेप रकम हिनामिना गरी फरार भएको आरोपमा उनीहरूलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।