काठमाडौं, ११ फागुन । परराष्ट्र मन्त्रालयले अति आवश्यक अवस्थामा बाहेक युक्रेन भ्रमण नगर्न नेपाली नागरिकलाई आग्रह गरेको छ ।

परराष्ट्रले युक्रेनमा रहेका नेपाली नागरिकलाई स्वदेश फर्किन आग्रह गरेको हो ।

बुधबार विज्ञप्ति जारी गरी अति आवश्यक कामले त्यहीँ बस्नुपरेको अवस्थामा बाहेक उपलब्ध व्यवसायिक हवाइ उडान उपयोग गरी स्वदेश फर्किन मन्त्रालयले आग्रह गरेको छ ।

रुससँगको तनावका कारण युक्रेनमा पछिल्लो समय हिंसात्मक घटना हुन सक्ने भन्दै मन्त्रालयले सचेत हुन आग्रह गरेको छ ।

हाल युक्रेन मामिला हेर्दै आएको जर्मनीको बर्लिनस्थित नेपाली दूतावासमा युक्रेनका ३८ नेपाली नागरिक सम्पर्कमा रहेको र उनीहरू सकुशल रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।