काठमाडौं, ११ फागुन । नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।

संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन सर्कुलर जारी गरिएको जानकारी दिइन् ।

उनले भोलिको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सैद्धान्तिक छलफल हुने र उक्त छलफल नै निर्णायक बन्नसक्ने भएकाले सांसदलाई अनिवार्य उपस्थित हुन भनिएको बताइन् ।

हाल प्रतिनिधिसभा बैठकमा कांग्रेसको तर्फबाट ६३ जना सांसद छन्, तीमध्ये दुईजना निलम्बित छन् । सांसद प्रदीप गिरी उपचारका क्रममा भारतमा छन् ।

कांग्रेस एमसीसीको पक्षमा छ । कांग्रेस सांसद लक्ष्मी परियारले भोलि बस्ने संसद् बैठकमा उपस्थित हुन भनेर सर्कुलर आएको जानकारी दिइन् । उनले पार्टीको संसदीय दलको कार्यालयले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित हुन भनेर म्यासेज पठाएको पुष्टि गरिन् ।

सत्तारुढ प्रमुख दल कांग्रेस संसदमा दोस्रो ठूलो शक्तिको रूपमा रहेको छ । संसदमा सबैभन्दा धेरै एमालेका ९७ जना सांसद छन् ।