जनकपुरधाम, १० फागुन । विगत लामो समयदेखि मधेस केन्द्रित राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका लोकप्रिय युवा नेता उमेश मण्डलले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल परित्याग गरेका छन् ।

युवा नेता मण्डलले लोसपा परित्याग गरि औपचारिक रुपमा आजदेखि तमलोपामा प्रवेश गरेका हुन् ।

मंगलबार जनकपुरधाममा आयोजित दल परित्याग तथा पार्टी प्रवेश घोषणा कार्यक्रममार्फत लोसपाका प्रभावशाली नेता वृषेशचन्द्र लाल र डा. विजय कुमार सिंहसँगै युवा नेता मण्डलले पनि तमलोपा रोजेका छन् ।

मधेश जनआन्दोलन तथा विगतमा भएका विभिन्न प्रदर्शन एवम् राजनीतिक गतिविधिहरुमार्फत युवाहरुको बिचमा आफ्नो बेग्लै छवी बनाएका नेता मण्डलले लोसपामा देखिएको व्यक्तिवादी चरित्रका कारण आफूहरुले पार्टी परित्याग गरेको बताएका छन् ।

२०७९ सालमा हुने स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–४ को वडाध्यक्ष पदमा उम्मेदवारी दिने बताउँदै मण्डलले पछिल्लो विभिन्न निर्वाचनहरुमा आफू आबद्ध पार्टीका उम्मेदवारलाई जिताउन महत्वपुर्ण योगदान पुर्याएका थिए ।

गत निर्वाचनमा नेता मण्डल वडाध्यक्षको उम्मेदवार बन्न नसकेपनि उनले आफ्नो वडामा विभिन्न विकास निर्माणका कामहरु गरेर स्थानीयको मन जितिसकेका छन् ।

मण्डलसँगै लोसपाका नेताहरु धिरेन्द्र बहादुर सिंह, रामजी राय, सतिश लाल दास, योगेन्द्र राय, ब्रजकिशोर सिंह, मो.असगर अलि, भोलानाथ झा, विन्दु देवी, राज किशोर मण्डल, मो.सुहैल अहमद, निर्मला झा, इन्द्रेश कुमार झालगायत ११४ जना तमलोपामा प्रवेश गरेका हुन् ।