काठमाडौं, १० फागुन । आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले सरकारसँग ८ अर्ब १४ करोड रुपैयाँ बजेट मागेको छ ।

निर्वाचन खर्चका लागि आयोगले बजेट निकासा गरिदिन मंगलबार अर्थ मन्त्रालयलाई पत्राचार गरेको हो ।

आयोगका अनुसार २०७४ सालको स्थानीय तहको निर्वाचनमा वस्तुगत सहायतासमेत गरी ८ अर्ब १४ करोड रुपैयाँ खर्च भएको थियो ।यस पटक माग गरिएको रकम गत निर्वाचनमा भन्दा करिब ८१ करोड बढी बढी हो ।

पाँच वर्षमा भएको मुल्यबृद्धि, करिब ३८ लाख मतदाता थप हुनु, कर्मचारीको तलबमा भएको बृद्धिलगायत कारण निर्वाचन खर्च बढ्ने देखिएको आयोगले जनाएको छ ।

आयोगले विगतमा निर्वाचनको काममा संलग्न कर्मचारीलाई खाईपाई आएको तलबको १२१ प्रतिशत निर्वाचन सुविधा भएकोमा यस निर्वाचनमा सुरु तलब स्केलको १०० प्रतिशत हुने गरी बजेटमा प्रस्ताव गरिएको जनाएको छ ।

अघिल्लो निर्वाचनमा मतदाता शिक्षामा करिब ८० करोड ६० लाख रूपैयाँ खर्च भएको थियो । यस पटक करिब २४ करोड १७ लाख रूपैयाँ मात्र बजेट प्रस्ताव गरिएको छ ।