बतास समूहले चलाइरहेको धर्मशाला छिट्टै सरकारको स्वामित्वमा ल्याउने मन्त्री आलेको प्रतिबद्धता

काठमाडौं, १० फागुन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले बतास समूहले चलाइरहेको पशुपति क्षेत्रको धर्मशाला छिटोभन्दा छिटो सरकारको स्वामित्वमा ल्याउने बताएका छन् ।
मंगलबार महाशिवरात्रि पर्व २०७८ मूल समारोह समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री आलेले बतास समूहलाई हटाउने सरकारको निर्णयमा सो समूहले लिएर आएको अल्पकालीन आदेशसमेत अदालतले खारेज गरिसकेकाले छिटोभन्दा छिटो धर्मशाला फिर्ता ल्याइने बताएका हुन् ।
विगतका प्रतिनिधिले धर्मशाला कौडीको भाउमा बेचेको भन्दै उनले अब त्यस्तो कदम सह्य नहुने बताए । मन्त्री आलेले पशुपतिप्रति गिद्धे दृष्टि लगाउनेहरूको कहिल्यै कल्याण नहुने बताए ।
‘भारतीय सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले २५ करोड भारु पैसा दिएर धर्मशाला निर्माण गर्न दिएको त्यो भवन आज कौडीको भाउमा विगतको प्रतिनिधिले त्यसलाई बेच्ने कामहरु गरेका छन् । त्यो कतै पनि सह्य हुनेवाला छैन । र हिजो मात्रै हामीले अल्पकालीन आदेश लिएर आउनुभएको थियो बतास अर्गनाइजेशनले त्यो अल्पकालीन आदेश पनि खारेज भइसकेको अवस्था छ,’उनले भने ।
पशुपति क्षेत्र विकास कोषको अध्यक्ष समेत रहेका मन्त्री आलेले यस वर्षको महाशिवरात्रि पर्व विगतका वर्षभन्दा भव्य र सभ्य रुपमा मनाउने तयारी भइरहेको जानकारी दिए ।
महाशिवरात्रि पर्वलाई भव्य र सभ्य बनाउन कुनै पनि कसर बाँकी नराख्न उनले निर्देशनसमेत दिए । धर्मावलम्बीलाई सहज रूपमा पानीको व्यवस्था, बत्तीको व्यवस्था मिलाउनेदेखि सरसफाइमा विशेष ध्यान दिन मन्त्री आलेले निर्देशन दिए ।
यस वर्षको महाशिवरात्रि पर्व फागुन १७ गते मंगलवारका दिन परेको छ । यस वर्ष सो दिन पशुपति क्षेत्रमा १० लाख दर्शनार्थी मेला भर्न तथा दर्शन गर्न आउने अनुमान गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापाले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


