विराटनगर, १० फागुन । प्रदेश–१ को नामकरण सहमतिका आधारमा टुंगोमा पु¥याउने भनिए पनि दलहरू भने आ–आफ्नै अडानमा देखिएका छन् ।

प्रदेश–१ को नामकरणका विषयमा प्रदेश सरकारका स्वास्थ्यमन्त्री जयराम यादव गठित समितिले मंगलबार आयोजना गरेको सर्वदलीय छलफलमा दलहरूले प्रदेश नामकरणका विषयमा ठोस कुरा भने राखेनन् ।

राजनीतिक दलका प्रदेशका शीर्षनेता सहभागी बैठकले सहमतिका आधारमा प्रदेशको नामकरण गर्नुपर्ने उनीहरूको भनाइ थियो ।

सर्वदलीय बैठकमा एमाले प्रदेश–१ का अध्यक्ष तुलसी न्यौपानेले गठबन्धनको तर्फबाट धारणा आएपछि बल्ल आफ्नो पार्टीले आधिकारिक धारणा सार्वजनिक गर्ने बताए ।

उनले एमाले पेलेर जाने या ठेलेर जाने भएको भए दुई तिहाइको सरकार भएका बेला प्रदेशको नाम टुंगोमा पु¥याउने बताए । ‘हामी उहिल्लै नाम राख्थ्यौँ,’ उनले भने ।

सरकारले साझा प्रस्ताव ल्याए त्यसमा छलफल गर्न एमाले तयार रहेको उनले बताए । न्यौपानेले अहिले एमालेको कसैसँग विमति नभएको र साझा रूपमा एमाले नामको विषयमा छलफल गर्न तयार रहेको बताए ।

नेपाली कांग्रेसका प्रदेश सभापति उद्धब थापाले नामकरणको विषय सजिलो नभएको बताए । उनले नामको विषय आजै निर्णयमा पुग्न नसक्ने धारणा राखे ।

पहिचानको विपक्षमा कांग्रेस नभएको भन्दै उनले जे नाम राखे पनि यहाँ बस्नेले यो नाम मेरो पनि हो भन्ने हुनुपर्नेमा कांग्रेस रहेको बताए ।माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्क नेम्बङले पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्नेमा आफ्नो दल रहेको बताए ।

उनले पहिचान पनि कुन भन्नेमा छलफल भइरहेको, तर अहिले नै पार्टी यही नाम हुनुपर्छ भन्नेमा स्पष्ट भइनसकेको बताए ।