काठमाडौं, ८ फागुन । सरकारले बादी, दलित र पिछडा वर्गको छुट्टाछुट्टै उत्थान विकास समिति बनाउने तयारी गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले पछाडि परेका ती समुदायहरूको हक, हित, अधिकारसहितको समग्र उत्थानका लागि वादी उत्थान विकास समिति, दलित उत्थान विकास समिति र पिछडा वर्ग उत्थान विकास समिति स्थापनाका लागि मन्त्रिपरिषदमा प्रस्ताव पेस गरिएको जानकारी दिएका हुन् ।

राष्ट्रिय समावेशी आयोग दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले दलित आयोग भए पनि उनीहरूको समग्र उत्थानका लागि विकास समिति नै उपयुक्त हुने भएकाले आफूले दलितहरूको पनि उत्थान विकास समिति बनाउने प्रस्ताव मन्त्रिपरिषदमा लगेको तर्क गरे ।

मन्त्री श्रेष्ठले खस–आर्य समुदायले पनि छुट्टै आयोग बनाउनका लागि आफू समक्ष प्रस्ताव गरेको र त्यस विषयमा पनि छलफल भइरहेको पनि बताए ।

मन्त्री श्रेष्ठले ती प्रस्तावहरू मन्त्रिपरिषदको प्रशासन समितिमा छलफल भइरहेको र छिट्टै मन्त्रिपरिषद बैठकबाट पारित हुने विश्वास समेत व्यक्त गरे ।