सप्तरी, ८ फागुन । सप्तरीको सप्तकोशी नगरपालिकामा विभिन्न चार राजनीतिक दलले लगाएको ताला तोडेपछि झडप भएको छ । झडपका क्रममा वडाध्यक्षसहित दुई जना घाइते भएका छन् ।

नगरपालिकाका जनप्रतिनिधिले ताला खोलेर काम सुरु गरेपछि झडप भएको हो ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले विभिन्न ६ बुँदे माग राख्दै बिहीबार नगरपालिकाको कार्यालयमा ताला लगाएका थिए ।

चार दलका कार्यकर्ताले आइतबार पुनः ताला लगाउन खोजेपछि प्रहरीसँग झडप भएको थियो । झडपका क्रममा सप्तकोशी नगरपालिका–४ का वडाध्यक्ष बद्रीनारायण चौधरी र वडा नम्बर–९ का किसुन यादव घाइते भएका छन् । घाइते दुबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

आर्थिक वर्ष २०७८/७९ का नगरभित्रका सबै वडाका योजना कार्यान्वयन गर्नुपर्ने, बेरुजुको विवरण र आन्तरिक लेखा परीक्षणको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै चार दलले नगरपालिकामा तालाबन्दी गरेको थियो ।

उनीहरुले नगर प्रमुखलाई ज्ञापन पत्र समेत बुझाएका थिए । ज्ञापन पत्रको बेवास्ता गरेको भन्दै उनीहरुले पछि तालाबन्दी गरेका थिए ।