सर्लाही, ८ फागुन । सर्लाहीमा एक विद्यालयको कम्प्युटर ल्याबमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।

जिल्लाको बसवरिया गाउँपालिका वडा नम्बर–४ धनगढास्थित श्री पञ्चायत आदर्श माध्यमिक विद्यालयको दुई तल्ले भवनको कम्प्युटर कोठामा आगलागी हुँदा लाखौँको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

शनिवार साँझ स्कुलको कम्प्युटर कोठामा अचानक विद्युत सर्ट भई आगलागी हुँदा कम्प्युटर, सिसिटिभी डिसप्ले लगायतका विद्युतिय सामग्रीहरु जलेर नष्ट भएको प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए ।

आगलागीबाट २४ वटा कम्प्युटर मोनिटर, एउटा सिसिटिभी डिसप्ले, ब्याट्रिको क्विनेट १ थान, ब्याट्रिको युपियस १ थान, राउटर १ थान र एलइडी १ थान गरी करिब २ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।