काठमाडौं, ७ फागुन । ७२ औं राष्ट्रिय प्रजातन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले देशभरका ५०१ कैदीबन्दीको सजाय मिनाहा र १२ जनालाई आममाफी दिएकी छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा कैदीबन्दीहरू प्रजातन्त्रको दिवसको दिन छुटेका हुन् ।

चितवन कारागारका ११ कैदीले पनि सजाय मिनाहा पाएका छन् । तीमध्ये सवारी ज्यान मुद्दाका पाँच (नवलपरासी पूर्वका दुई, चितवनका दुई र भारतीय एक) र कर्तव्य ज्यान मुद्दाका दुई (चितवन र मकवानपुरका एक/एक) जना छन् ।

बहुविवाह मुद्दाका नवलपरासी पूर्वका एक, वन पैदावार चोरी निकासी मुद्दाका चितवनका एक र चोरीका मुद्दाका दुई (गोर्खा र धादिङका एक एक) जनाले सजाय मिनाहा पाएका चितवन कारागारका जेलर कमल काफ्लेले जानकारी दिए ।

सरकारले हरेक वर्ष प्रजातन्त्र दिवसको अवसरमा बानी व्यवहारमा सुधार गरेका कैदीबन्दीको सजाय मिनाहा गर्ने गरेको छ । यससँगै चितवन कारागारमा अब तीन आश्रित बालिकासहित ७१९ कैदीबन्दी रहेका छन् । तीमध्ये ५५ महिला र ६६१ पुरुष छन् ।