काठमाडौं, ७ फागुन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आगामी स्थानीय तहको निर्वाचनमा राजनीतिक दल र उम्मेदवारलाई फुटबल खेलाडीलाई जस्तै नियम उल्लंघन भयो भन्दै रेड कार्ड देखाउने अवस्था सिर्जना नगर्न सुझाव दिएका छन् ।

निर्वाचन आयोगद्वारा छैठौँ निर्वाचन दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले फुटबलमा विभिन्न कार्ड देखाउँदा सचेत गराउने अवस्था रहे पनि निर्वाचनमा देखाउने कार्ड अलि खतरनाक रहने भएको हुँदा त्यसलाई समयमै महसुस गर्न दल र उम्मेदवारलाई आग्रह गरे ।

’निर्वाचन फुटबल खेल जस्तै हो, राजनीति दल र उम्मेदवार खेलाडीका रुपमा मैदानमा आउनुहुन्छ । आयोग रेफ्रीको भूमिकामा हुन्छ, निर्वाचनका समयमा मैदानमा रहेका खेलाडी (दल र खेलाडी)ले नियम उलङ्घन (फल्ट) गरिहाल्छ कि भनेर हेर्नु पर्ने हुन्छ’ उनले भने ।

फल्ट भए/नभएको हेर्ने आयोगसहित निर्वाचनमा खटिने दुई लाख ५० हजारभन्दा बढी जनशक्तिको जिम्मेवारी रहेको बताउँदै उनले भने, ’हामी चाहन्छौँ, कसैले कसैलाई फल्ट ग¥यो भनेर रातो कार्ड देखाउनुपर्ने अवस्था सिर्जना नहोस् ।’

प्रमुख आयुक्त थपलियाले आयोग र मातहतका कर्मचारीलाई निर्वाचनको तयारीलाई विशिष्ट अङ्क ल्याएर परीक्षा उत्तीर्ण गर्ने अवसरका रुपमा लिएर काम गर्न सुझाव दिए ।