काठमाडौं, ६ फागुन । काठमाडौं महानगरपालिका–१३ रवि भवन घर भई कीर्तिपुर नगरपालिका–६ पाण्डेछाप बस्ने ६५ वर्षीय न्हुछे नारायण महर्जनको कुटपिटबाट मृत्यु भएको छ ।

हत्या गरेको आरोपमा उनकै २ जना छोराहरू ४५ वर्षीय शंकर महर्जन र ४० वर्षीय कृष्ण महर्जनलाई प्रहरीले पक्राउ गरेको छ ।

छोराहरूले कुटपिट गर्दा गम्भीर घाइते भएका न्हुछे नारायणको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको थियो ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूको साथबाट प्रहरीले २ थान प्रेसर कुकर र मसला पिस्ने लोहोरो बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।