काठमाडौं, ६ फागुन । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेको अवरोधका बाबजुद ‘आदिवासी जनजाति आयोगको प्रतिवेदन आव २०७७/०७८’ पेश भएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले उक्त प्रतिवेदन पेश गरेका हुन् ।

एमाले सांसदले गैरसांसदलाई प्रवेश निषेध गर्नुपर्ने, संवैधानिक सर्वोच्चता कायम गर्नुपर्नेलगायतका माग गर्दै नाराबाजी गरेका थिए ।
आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गरेको सूचना सभामुखले टाँस नगरेको भन्दै विपक्षी दलले संसद् बैठकमा अवरोध गर्दै आएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले कोरोना महामारीका कारण संसद् बैठक नियमित हुन नसकेको र भएका बैठकमा पनि अवरोध कायम हुँदा आमनागरिकका दैनिक समस्या सरकारलाई सुनाउने, समाधानको प्रयत्न गर्ने तथा महत्वपूर्ण विधेयक विचाराधीन रहेकाले बैठकमा अवरोध नगरी नियमित सञ्चालनका लागि सहयोग गर्न आग्रह गरेका थिए ।

उनको पटकपटकको आग्रहलाई बेवास्ता गर्दै एमाले सांसदले रोस्ट्रम घेराउ गर्दै नाराबाजी गरेपछि उनले कार्यसूचीलाई अगाडि बढाएका थिए । प्रतिनिधिसभाको अर्को बैठक फागुन ८ गते आइतबार अपराह्न १ बजे बस्नेछ ।