काठमाडौं, ६ फागुन । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वर्तमान सत्ता गठबन्धन राजनीतिक बाध्यताको उपज भएको बताएकी छन् ।

शुक्रबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् ।

उनले एमसीसीजस्ता विषयहरू नेपालको आन्तरिक राजनीतिमा किचलो गर्नका लागि ल्याइएको पनि बताइन् । एमसीसीजस्ता देशका लागि किचलो बनाउने विषयहरूबाट सरकार टाढा रहनु उचित हुने मन्त्री झाँक्रीको भनाइ छ ।

उनले भनिन्, ‘नेपालमा पछिल्लो गठबन्धन एउटा बाध्यताको उपज हो । हामीले एउटा लोकतान्त्रिक व्यवस्थाभित्र राजनीतिक प्रणाली स्थापित ग¥यौँ । त्यसको रक्षाका लागि चाहेर वा नचाहेर बनेको गठबन्धन हो । अरू यस्ता एमसीसी लगायतका इस्यूहरू थिए, ती पहिलादेखिका सरकारले सिर्जना गरेको दायित्व हो । म प्रधानमन्त्रीको मन्त्रिपरिषद्को एउटा सदस्य भएकोले प्रधानमन्त्रीले राखेको धारणाभन्दा बाहिरको धारणा राख्न उपयुक्त हुँदैन । यी विषयहरू नेपालको डोमेस्टिक पोलिटिक्समा अनावश्यक ढंगले किचलो हाल्नका लागि ल्याइएका विषयहरू हुन् । यी विषयबाट अलग रहनु, सचेत हुनु, राष्ट्रको हित र क्रेडिबेलिटीमा सचेत हुनु जरुरी छ ।’