विराटनगर, ५ फागुन । सुनसरीको धरान उपमहानगरपालिका–४ मा पुरुषको टाउको र खुट्टा भेटिएको ठाउँ नजिकै अर्को झोलामा शरीर पनि भेटिएको छ ।

बुधबार जेब्रा झोलामा पुरुषको टाउको र खुट्टा भेटिएको स्थान नजिकै बिहीबार बिहान अर्को झोलामा शरीर भेटिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले शंकास्पद झोला भेटिएपछि अनुसन्धान भइरहेको बताए । झोलामा मानिसको शरीरको केही भाग जस्तो देखिएपछि जाँचका लागि फरेन्सिक टोली खटाएको उनले जानकारी दिए ।

धरान उपमहानगरपालिका–४ मा पर्ने धरान–भेडेटार रोडको जंगलमा बुधबार दाउरा खोज्न जानेले जेब्रा झोलामा मान्छेको खुट्टा र टाउको भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

३०–३५ वर्षको जस्तो देखिने पुरुषको टाउको र खुट्टा भेटिए पनि पहिचान नभएको प्रहरी उपरीक्षक थापाले बताए । सडेको अवस्थामा भेटिएको शवको पहिचान गर्ने प्रयास भइरहेको उनले बताए ।