प्रतिष्ठानलाई उद्देश्य प्राप्तिको दिशामा अघि बढाउन सरकार तयार रहेको मुख्यमन्त्रीको प्रतिवद्धता

जनकपुरधाम, ५ फागुन । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने अभियानको पहिलो खुडकिलोको रुपमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान अघि बढेको बताएका छन् ।
प्रतिष्ठानको प्रथम वार्षिकोत्सव समारोहलाई बिहीबार सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने उद्घोष गरेअनुरुप पहिलो खुडकिलोको रुपमा प्रतिष्ठानलाई अघि बढाएको बताए ।
विषम परिस्थितिमा सुरु भएको प्रतिष्ठान एक वर्ष भित्रै ४ वटा विषयमा स्नातक शिक्षाको अध्ययन अध्यापन सुरु गर्नुका साथै विशेष कोभिड अस्पतालको सञ्चालन र विशिष्टिकृत सेवाको सञ्चालन गर्नु स्वागत योग्य रहेको उनले बताए ।
प्रतिष्ठानका पदाधिकारी तथा चिकित्सकहरुको प्रयासलाई सराहना गर्दै मुख्यमन्त्री राउतले आगामी दिनमा प्रतिष्ठानलाई उद्देश्य प्राप्तिको दिशामा अघि बढाउन आवश्यक सम्पूर्ण सहयोग गर्न प्रदेश सरकार तयार रहेको प्रतिवद्धता समेत व्यक्त गरे ।

प्रदेश सरकारले प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने अभियान अन्तर्गत सप्तरीको राजविराजमा कृषि विश्वविद्यालयको स्थापना भईसकेको र वीरगञ्जमा विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापनाको तयारी अन्तीम चरणमा रहेको उनले बताए ।
प्राविधिक शिक्षा सम्बन्धि विधेयक समेत संसदमा विचाराधिन रहेकोले एक महिना भित्रै पास हुने उनले विश्वास व्यक्त गरे । मुख्यमन्त्री राउतले विधेयक पास भए लगत्तै प्रदेश भरिका सामुदायिक विद्यालयहरुमा प्राविधिक शिक्षाको अध्ययन अध्ययापन सहज हुने दावी गरे ।
प्रतिष्ठानका कुलपति समेत रहेका मुख्यमन्त्री राउतले हाल सञ्चालनमा रहेको स्थानबाट प्रतिष्ठान अन्यत्र नसर्ने दाबी गरे । गुठी मातहत रहेको जग्गा हाल मणीपालले लिजमा लिएको भएपनि जग्गा प्राप्तीको प्रक्रिया प्रदेशले सुरु गरिसकेको हुँदा प्रतिष्ठान अन्यत्र सर्ने कुनै सम्भावना नरहेको उनले बताए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


